(१) नेपालमा रहे बसेको वा तेस्रो मुलुुकमा जाने क्रममा नेपालभित्र पारवहनमा रहेको फरार अभियुक्त वा कसूरदारको सपुर्दगीको लागि माग गर्ने राज्यले नेपाल सरकार समक्ष अनुरोध गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुरोध गर्दा माग गर्ने राज्यले कूटनीतिक माध्यम मार्फत अनुरोध गर्नु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल पक्राउ गरी नियन्त्रणमा नलिएमा फरार अभियुक्त वा कसूरदार भागी बेपत्ता हुने सम्भावना भएमा त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिइदिन माग गर्ने राज्यले सोझै मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अनुरोध गर्दा फरार अभियुक्तको हकमा प्रथम दृष्टिमा नै अभियुक्त देखिने प्रमाण र कसूरदारको हकमा निज कसूरदार ठहरिएको सक्षम अदालतको फैसला उपलब्ध गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रमाण वा फैसलाको आधारमा फरार अभियुक्त वा कसूरदार पक्राउ भएमा मन्त्रालयले सोको जानकारी माग गर्ने राज्यलाई तीन दिनभित्र दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम फरार अभियुक्त वा कसूरदार पक्राउ भएमा माग गर्ने राज्यले पक्राउ परेको जानकारी पाएको मितिले सात दिनभित्र त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगीको लागि कूटनीतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्नु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम अनुरोध नगरेमा पक्राउ परेको फरार अभियुक्त वा कसूरदारलाई मन्त्रालयले तत्काल थुनाबाट मुक्त गर्नु पर्नेछ ।